नेपालमा आज २ सय १० जना संक्रमित थपिए

विराटनगर, १४ साउन । नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) का २ सय १० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ वटा पीसीआर परीक्षणमा २ सय १० जनामा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । जसमा १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । आज मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा अहिलेसम्म ७ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगर ४, ६ र १६ नंवर वडाका ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ । प्रदेश १ मा आज ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पीसीआर परीक्षण गरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो । प्रदेश १ मा आज सम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button