Tune to BFM 91.2|Biratnagar

नेपालमा कोराना संक्रमितको संख्या ६ सय ७५ पुग्यो

विराटनगर १२ जेठ । थप ७२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३/३ जना कोरोना संक्रमित फेला परेका छन । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

यस्तै रौतहटको राजपुर परहदवा–२, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् । बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली १ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका ३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

यसैबिच कोरोना निको भएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट गएराति एकै परिवारका १८ जना डिस्चार्ज भएका छन् ।अस्पतालका डा. उदयनारायण सिंहका अनुसार उनीहरुको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button