Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमणबाट २८ को मृत्यु, १२ हजार संक्रमित

विराटनगर, १३ असार । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । फोक्सोको क्यान्सरका बिरामी उनी भारतमा उपचार गराउँदै आएका थिए । कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ ।

आजसम्म आइपुग्दा नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले बताउनुभयो । आज १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।

पीपीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ७, इलाममा ५ र मोरङमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज उदयपुरको त्रियुगा नगरपालिकामा ३ महिला र ४ पुरुष, इलामको सुर्याेदय नगरपालिकामा ५ पुरुष र मोरङको बुढीगंगामा १ महिला र १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सम्म ४ सय ६२ पुरुष र ७१ महिला कोरोना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button