Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो

विराटनगर, २९ असार । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय १६ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलसनमा ६ हजार ६ सय ९५ जना संक्रमित उपचाररत रहेका छन् । आज ३४ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यस्तै ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

आजसम्म २ लाख ९३ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरीका विभिन्न क्वारेन्टिनहरुमा २४ हजार ७ सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ६ महिला र ७ पुरुष र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज भएकामा मोरङका १६, उदयपुरका १३, सुनसरीका २, झापाका ५, इलाम र पाँचथरका १–१ जना रहेको छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४२ पुगेको छ । प्रदेश १ मा आज ६ जना कोरोना संक्रमित थपिएका छन् ।

धनकुटामा ३, झापा, सुनसरी र तेर्हथुममा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार धनुकुटाको छथर जोरपाटीमा २ पुरुष, शहिदभूमीमा १ पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र तेर्हथुमको म्याङलुङमा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button