नेपालमा कोरोना संक्रमित ५७ जना

विराटनगर, १७ वैशाख । आज नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराका २ र पर्साका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नारायणी अस्पतालमा उपचाररत रहेका संक्रमित व्यक्तिहरुसँगै भारतको दिल्लीबाट आएका ३१, ४३ र ४६ वर्षिय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

सिमराको क्वारेन्टाइनमा रहेको उनीहरुको आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । तीनजना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । अहिले विराटनगरमा ३१, वीरगञ्जमा ८ तथा धनगढी र भरतपुरमा १/१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताउनुभयो ।

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । १६ जना संक्रमित व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । अहिलेसम्म देशभरि पिसिआर विधिबाट ११ हजार ५ सय २४ जनाको नमुना परीक्षण गरिएको छ ।

आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ६७ वटा परीक्षण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button