नेपालमा थप १ हजार ६ सयमा कोरोना संक्रमण
विराटनगर, ६ मंसिर । पछिल्लो २४ घण्टामा थप १६ सय ७४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १ हजार १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३ सय ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप ७ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।