नेपालमा १३ हजार २४८ जनामा संक्रमण पुष्टि, थप एकको मृत्यु

विराटनगर, १५ असार । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृत्यु भयो भने हिजाो कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । प्र्रदेश १ मा आज ८ महिने बालिका सहित १४ जना डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् । आज डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ । प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा १ जना महिला, उदयपुरको ताप्लीका २ पुरुष, खोटाङ दिक्तेलका २ महिला र २ पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ सय ६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button