Tune to BFM 91.2|Biratnagar

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्यो

विराटनगर, ११ साउन । आज नेपालमा कोरोना भाइरस (कोभिड—१९) का १ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ३ सय जनाको पीसीआर परीक्षण भएकोमा १ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभरी १८ हजार ६ सय १३ जना कोरोना संक्रमित पुगेका छन ।

जसमा आजसम्म जम्मा १३ हजार १ सय २८ जना निको भएर घर फर्किएका छन । आज ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता डा. गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ९ सय ४४, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय ५१ जना निको भएर घर फर्किएका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ३, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् । अहिले देशभरी ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

विराटनगरमा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरमा १९ पुरुष र ३ महिलामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । संक्रमण देखिएका मध्ये १९ जना प्रदेश १ प्रहरी कार्यालय विराटनगरका हुन । विराटनगरमा एकै दिन ठुलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो ।

यसअघि विराटनगरमा ४१ जनामा संक्रमण पुष्टी भएको थियो । मोरंगमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ । १७ वटा स्थानीय तह मध्ये मोरंगमा ग्रामथान गाउँपालिका बाहेकअन्य १६ वटामा संक्रमण देखिएकोछ । प्रदेश १ मा आज पुष्टी भएका ३१ जना संक्रमित मध्ये २२ जना विराटनगरका छन् ।

बाँकी ९ जना इलामका मध्ये ८ जना इलाम नगरपालिका र १ जना माई नगरपालिकाका पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । प्रदेश १ मा आईतबार १२ जना डिस्चार्ज भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ महिला र ४ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button