नेपाली व्यापारीको प्याज जोगवनीमै अड्कियो

विराटनगर, ३१ भदौ । भारत सरकारले रोक लगाएपछि व्यापारीले नेपाल ल्याउन खोजेको प्याज सीमापारि जोगवनी बजारमै अड्किएको छ । प्याज निर्यातमा रोक लगाएपछि त्यसको असर नेपाली बजारमा समेत पर्न थालेको हो ।

भारत सरकारले आन्तरिक खपतलाई परिपूर्ति गर्दै हाल बढ्दो मूल्य नियन्त्रण गर्नका लागि भारतले अन्य मुलुकमा प्याज निर्यातमा रोक लगाएको छ । नेपाली व्यापारीले खरिद गरि ल्याएको प्याज भारतीय सीमा जोगबनीमा रोकिएको छ । विराटनगर गुद्रीस्थित आलु तथा प्याजका थोक विक्रेता पशुपति भगतले १२ वटा आलु लोड भएका ट्रक जोगवनीमा अड्किएको बताउनु भयो ।

भारतको इन्दौरबाट आयात हुने प्याजमा एकाएक रोक लगाएपछि नेपाली व्यापारीको करिब ३ करोड रुपैयाँ बराबरको प्याज सीमापारी नै रोकिएको उहाँको भनाइ छ । प्याजमा रोक लगाएसँगै मूल्यमा पनि पनि असर पर्न थालेको छ ।

चारदिन अघिसम्म ७५ रुपैया प्रतिकिलो पाईने प्याजको मुल्य हाल १ सय रुपैया पुगेको छ । अहिले ब्यापरीसंग भएको प्याजको मौज्दात हेर्दा विराटनगरमा एकसातासम्म प्याजको मूल्य प्रति किलोग्राम १ सय रुपैयाँ भन्दा बढि नहुने भगत बताउनु हुन्छ । त्यसपछिको जिम्मेवारी व्यापारीले लिन नसक्ने आयातकर्ताहरुको भनाई छ । हाल भारतीय भूमिमा रोकिएको प्याज निकासी गर्नका लागि प्रशासनले पहल गरिदिनुपर्ने उनीहरुको माग छ । प्रदेशमा दैनिक करिब ३ मेक्ट्रिक्टन बढि प्याज खपत हुने गर्दछ ।

आज प्याजको आयात ठप्प भएको बताउँदै विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले हिजोसम्म भन्सारबाट प्याज आएको जानकारी दिनु भयो । भन्सार कार्यालयका अनुसार यसवर्ष साउनमा ९ सय ३७ टन र भदौ २४ गतेसम्म ६ सय ६२ टन गरि कुल १ हजार ५ सय ९९ टन प्याज आयात भएको छ । जसबाट ड्युटी कर ८५ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button