नेपाल–भारत सुरक्षा अधिकारीको बैठकमा कोरोनाको चर्चा

विराटनगर, ७ असोज । भारतको जोगवनीस्थित भन्सार कार्यालयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीचको बैठक आज भएको छ ।

बैठक बढ्दो कारोना भाइरसको संक्रमण नियन्त्रण, सीमा अपराध, सीमा स्तम्भ, विभिन्न वस्तुको तस्करी, अवैध मुद्रा, लागुऔषध र मदिराको अवैध ओसारपसार, साना हतियारको कारोबार, मानव बेचबिखन, चौपायको तस्करी रोक्ने विषयमा केन्द्रीत थियो ।

कोरोना संक्रमण नियन्त्रण गर्न दुई देशका सीमा नाका सिल रहेको र आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको विषय नेपालका सुरक्षा अधिकारीले भारतीय पक्षलाई अवगत गराएका छन् ।

बैठकमा सहभागी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दुवै देशका अधिकारीबीच मिलेर र सहकार्य गरेर अघि बढेमात्रै महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण सम्भव भएको निस्कर्ष बैठकबाट निस्किएको जानकारी दिनु भयो ।

उहाँका अनुसार दुवै देशका सुरक्षा अधिकारीले सीमाको रेखदेख र सीमा स्तम्भको संरक्षणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । भारतीय पक्षले पनि सीमा स्तम्भको रेखदेख र संरक्षणमा सहयोग गर्न सबै उपाय लगाइने प्रतिबद्धता जनाएको छ ।

नेपाल–भारत सीमा अपराध नियन्त्रणका लागि आपसी सहयोगका सम्बन्धमा आयोजित बैठकमा सबै खाले अपराध नियन्त्रण गर्न एकअर्कामा समन्वय र सहकार्य गर्ने सहमति दुई देशका सुरक्षा अधिकारीबीच भएको छ ।

सुरक्षा अधिकारीबीचको सम्बन्धलाई थप विस्तार गर्दै सुदृढ बनाएर अघि बढ्ने विषयमा पनि छलफल भएको खड्काको भनाइ छ । खड्काले नियन्त्रण चुनौतीपूर्ण बनिरहेको भारतबाट नेपालमा हुने विभिन्न सामानको तस्करी, साना हतियार र लागुऔषधको ओसारपसार, चौपायको तस्करी लगायत नियन्त्रणमा सहयोग गर्न भारती सुरक्षा अधिकारीसँग आग्रह गरिएको सुनाउनु भयो ।

भारतीय सुरक्षा अधिकारीले पनि नेपाली पक्षलाई भारततर्फ हुने न्यून गुणस्तरको र अवैध मदिरा ओसारपसार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन् । बिहारमा मदिरा प्रतिबन्ध छ । भारतको बिहारमा निकट भविष्यमा हुने निर्वाचनका लागि भारतीय अधिकारीले सहयोग गर्न नेपाली सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् ।

बैठकमा भारतका तर्फबाट बिहारको पूर्णियाका डीआईजी विनोदकुमार, सीमा सुरक्षा बल –एसएसवी) का सञ्जयकुमार सारंगी, अररिया जिल्लाका एसपी हृदयकान्त लगायतको सहभागिता रहेको थियो । नेपालकातर्फबाट प्रहरी प्रमुखहरु मोरङका एसपी सन्तोष खड्का, सुनसरीका कमल थापा, सशस्त्र प्रहरी बल मोरङका प्रमुख तीर्थ पौडेल सहभागी हुनु हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button