पाँच दलको बैठक निष्कर्षविहीन, सरकार निर्माणमा अवरोध नगर्न वाम गठबन्धनको आग्रह

0
74

७ पुस,आमनिर्वाचनपछि राष्ट्रिय पार्टीको मान्यता पाएका पाँच राजनीतिक दलका शीर्ष नेताहरुको आज बसेको बैठक निश्कर्षमा पुग्न नसकी टुंगिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको राष्ट्रिय पार्टीहरुको संयुक्त बैठकमा विवादको जड राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश नै बन्यो ।बैठकमा सरकारले अध्यादेश जारी गर्न र त्यस अनुसार राष्ट्रियसभाको निर्वाचन गरेरमात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्यो भने एमाले र माओवादी केन्द्रका नेताहरुले पहिले सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे । बैठकपछि नेताहरुले दिएको जानकारी अनुसार आजको बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः बैठक बस्ने गरी बिना निर्णय बैठक टुंगिएको छ ।हालै सम्पन्न आमनिर्वाचनपछि देखापरेको संवादहिनताको अवस्थालाई तोड्न प्रधानमन्त्रीले बोलाएको बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी थिए भने नेपाली कांग्रेसबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए भने राष्ट्रिय जनता पार्टीबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले पठाइसकेको विधेयक राष्ट्रपतिले रोक्न नहुने भन्दै एकल संक्रमणीय पद्धति अनुसार नै राष्ट्रिय सभा गठन हुनुपर्ने अडान बैठकमा राखेको जानकारी दिनुभयो । राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि एकल संक्रमणीय पद्धतिबाटै राष्ट्रियसभा गठन हुनुपर्ने धारणा राखेको र नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा नबने पनि सरकार गठन हुन सक्ने भएकाले प्रतिनिधिसभाको परिणाम चाँडो घोषणा गरेर सरकार बनाउने बाटो खोल्नुपर्ने धारणा बैठकमा राखेको जानकारी दिनुभयो । अध्यादेश जारी गर्नुअघि अरु दलहरुसग पनि छलफल गर्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेकाले समस्या भएको श्रेष्ठको भनाई थियो । उहाँका अनुसार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनसँग राष्ट्रिय सभाको गठनको कुनै सम्बन्ध नभएकाले तत्काल प्रतिनिधिसभाको परिणाम घोषणा गरेर नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने बताउनुभएको पनि माओवादी केन्द्रका नेता श्रेष्ठले जानकारी दिनुभयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here