Tune to BFM 91.2|Biratnagar

पाँच लाख मूल्य बराबरको तस्करीका कपडा बरामद

विराटनगर, २१ जेठ । भारतबाट तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले विराटनगर महानगरपालिका–१४ पारिजात चौकबाट ठूलो परिणाममा कपडा बरामद गरेको छ ।

को २ ह २२१६ नम्बरको अटो टेम्पोमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (रिट)को टोलीले पाँच लाख मूल्य बराबरको तस्करीका कपडा बरामद गरेको हो । बरामद भएका कपडामा टप्स, बनारसी साडी, थान कपडाहरु र कुर्तासलवार रहेका छन् ।

प्रहरीकाअनुसार विराटनगर –१७ का गुट्टु आलमले तस्करी गरेर कपडा ल्याएको खुलेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बरामद भएका कपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको बताउनु भयो ।

उहाँकाअनुसार मुख्य नाकामा सुरक्षाकर्मी केन्द्रीत हुँदा साना नाका र सुरक्षाकर्मीको उपस्थिति नभएको स्थानबाट कपडा तस्करी गर्ने गरिएको हुन सक्छ । कपडा बरामद भएसँगै कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि दुवै देशमा ‘लकडाउन’ जारी रहेको भए पनि भारतबाट नेपालतिर कपडा तस्करी हुने क्रम भने नरोकिएको पुष्टि हुने प्रहरीको भनाइ छ ।

‘लकडाउन’का समयमा पनि तस्करी नरोकिएपछि सीमा क्षेत्रमा विशेष टोली परिचालन गर्दै थप निगरानी बढाएर कडाई गरिएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button