पूर्व डीआईजी सहित २७ जनाको बयान सकियो

0
186

विराटनगर, २४ बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको भनिएको साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या घटनामा आजसम्ममा २७ जना अभियुक्तसंग बयान लिइसकिएको छ । आज मात्रै पूर्व डीआईजी गोविन्द निरौला, निलम्बित एसपी विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अम्मरबहादुर थापा मगर, जवान विष्णुबहादुर खड्का, राजन थापा, तक्ले भनिने पुण्यप्रसाद तामाङ, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारुको बयान लिइएको अदालतका स्रेस्तेदार नवराज दुलाले बताउनु भयो । पक्राउ गरेर मुद्धा गरिएका ३० जना मध्ये अव तीन जनाको मात्रै बयान लिन बाँकी छ । अन्य अभियुक्तहरु भुजुङ गुरुङ, सुन व्यापारी चाचाजी भनिने महाविरप्रसाद गोल्यान, राजेन्द्रकुमार शाक्य, थाई एयरलाईन्सका अपरेटर लालबहादुर मगर, विमानस्थलका कर्मचारी चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, थाई एअरलाइन्सका कर्मचारी सम्बीरप्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भनिने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान यस अघि नै लिइसकिएको थियो । एसएसपी दिवेश लोहनी, डीएसपीहरु प्रजित केसी र संजयबहादुर राउतको भने बयान लिन बाँकी छ । तीनै जनासंग भोली बयान लिइने अदालतले जनाएको छ । सुन तस्करी र सनम हत्याकाण्डमा ६३ जनालाई अभियुक्त बनाएर संगठित अपराध अन्तर्गतको अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरिएको छ । अभियुक्तको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको ६ नम्बर इजलाशमा लिने काम भइरहेको छ । अदालतले पक्राउ परेका सबैसंग भोली सम्ममा बयान लिइसक्ने र पर्सीबाट भने थुनछेक बहस सुरु हुने जनाएको छ । तस्करीको साढे ३३ किलो सुन लुकाएको आरोपमा करेन्ट लगाएर यातना दिने क्रममा सनमको गत फागुन १८ गते मोरङको उर्लाबारी १ मा हत्या भएको थियो । हत्याको अनुसन्धान गर्दै जाने क्रममा सुन तस्करी हुँदै आएको ठूलो घटना सार्वजनिक भएको हो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here