On Air BFM 91.2|Biratnagar

प्रचण्डका ज्वाईंलाई प्रदेश १ को सुरक्षा जिम्मेवारी

विराटनगर, १९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरी ज्वाईं जीवन आचार्यले पार्टीबाट प्रदेश १ को राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पाउनु भएको छ । माओवादी केन्द्रले आचार्यलाई सुरक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको हो । स्रोतका अनुसार प्रचण्डकै ज्वाईं भएकाले उहाँले प्रदेशको शान्ति सुरक्षा, चोरी, तस्करी तथा अपराधजन्य घटनामा राज्यका सुरक्षा संयन्त्रसँगको सहकार्यमा राजनीतिक पहल लिने महत्वपूर्ण जिम्मेवारी पार्टीबाट पाउनु भएको हो । माओवादी केन्द्र प्रदेश १ समितिको असोज १३ गते बसेको बैठकले प्रचण्डका छोरी ज्वाईं आचार्यलाई सुरक्षाको हेर्ने जिम्मेवारी दिएको हो ।

उहाँ मोरङको बूढीगंगाका बासिन्दा हुनुहुन्छ । सुरक्षाको जिम्मा पाएसँगै आफूले प्रदेशका निम्नस्तरका जनतालाई सुरक्षाको अनुभूति हुने गरी दबाब सिर्जना गर्ने उहाँले बताउनु भयो । ‘राष्ट्रिय सुरक्षा विभागले जनताको शान्ति सुरक्षामा विशेष चासो र सहयोग गर्छ,’ माओवादी केन्द्रका युवा नेता आचार्यले भन्नु भयो, ‘खासगरी जनता र सुरक्षा संयन्त्रसँगको सहकार्यमा जोड दिँदै राजनीतिक पहलमार्फत जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन पहल गर्छ ।’ यसअघि माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लाका सहइन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको थियो । प्रदेशमा क्रियाशिल भातृ संगठन तथा जनवर्गीय संगठनका विभिन्न १७ वटा समितिको इन्चार्ज, सहइन्चार्ज तथा संयोजक तोकेको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button