Tune to BFM 91.2|Biratnagar

प्रजिअ दाहालद्धारा सीमा क्षेत्रको अनुगमन

विराटनगर, ९ असोज । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रको अनुगमन एवं निरीक्षण तीव्र पार्नु भएको छ । नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई लक्षित गर्दै दाहालले भारतसँग सीमा जोडिएका स्थानको आकस्मिक अनुगमन एवं निरीक्षण थाल्नु भएको हो । उहाँ नेतृत्वको टोलीले मोरङको धनपालथान, रंगेली लगायत सिमावर्ती क्षेत्रको अनुगमन गरेको छ । अनुगमनमा नेपाल र सशस्त्र प्रहरीले सहयोग गरिरहेका छन् । मोरङमा भारतसँग जोडिएको ६३.४ किलोमिटर खुला सीमा छ । सीमा क्षेत्रबाट हुने चोरी, तस्करी लगायतका अवैध धन्दा नियन्त्रण र नेपाल–भारत सीमाको अवस्था बुझ्नलाई सुरक्षाकर्मीको सहयोग लिँदै प्रजिअ दाहाल आफै अनुगमनमा निस्किनु भएको हो ।

उहाँले सीमा अपराध, अनआवश्यक आवतजावत, चोरी तस्करी लगायत सबै खालका अवैध गतिविधी नियन्त्रणमा लिँदै सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन पनि दिनु भएको छ । उहाँका अनुसार नेपाल–भारत सीमा छुट्याउने दशगजामा बनेका संरचना जतिसक्दो चाँडो हटाउन पहल भइरहेको छ । दाहालले भारतबाट नेपालतिर प्रवेश गर्नेहरुको अभिलेख राख्ने काम भइरहेको बताउनु भयो । ‘नेपाल प्रवेश गर्नेहरुले कोरोनाविरुद्धको खोप लगाए÷नलगाएको यकिन गर्ने गरिन्छ ।

आवश्यक परेमा उनीहरुको एन्टिजेन परीक्षण पनि हुन्छ,’ उहाँले भन्नु भयो, ‘नेपाल छिर्नेहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै प्रवेश दिने गरिएको छ । त्यसका लागि सीमा नाकामा ‘हेल्थ डेस्क’ नै खडा गरेर आवश्यक स्वास्थ्यकर्मी लगायतका जनशक्ति परिचालन गरिएको छ ।’ चाडपर्व मनाउन भारतबाट आफ्नो देश फर्कने नेपालीहरुलाई सीमा क्षेत्रमा सास्ती नहोस् र आवतजावतका नाममा अवैध धन्दा हुन नपाओस् भनेर प्रशासन सचेत रहेको दाहालको भनाइ छ । उहाँका अनुसार सर्वसाधारणलाई सहज आवागमनको वातावरण मिलाउन सीमा क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button