प्रदेश प्रहरी प्रमुखमा एआईजी आए, डीआईजी गए

0
110

विराटनगर, १५ भदौ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा सरुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्याय आज विराटनगर आइपुग्नु भएको छ । उहाँले विराटनगर स्थित पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नु हुने छ । सरकारले प्रत्येक प्रदेशमा प्रहरी प्रमुखका रुपमा एआईजीलाई पठाउने निर्णय गरेसंगै उपाध्यायको प्रदेश नम्बर १ मा सरुवा भएको थियो । यस अघि क्षेत्रीय प्रहरी प्रमुखका रुपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहन्थे । मुलुक संघीय संरचनामा गइसकेपछि सरकारले सातवटै प्रदेशको प्रहरी प्रमुखमा दरबन्दी कायम गरेर एआईजीलाई पठाएको हो । पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा रहनु भएका डीआईजी रमेश भट्राईले गत १० गते नै विराटनगर छाडिसक्नु भएको छ । २०७३ साल फागुन ९ गते आउनु भएका भट्राई पूर्व क्षेत्रीय प्रमुखमा रहने अन्तिम डीआईजी बन्नु भएको छ । उहाँको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागमा सरुवा भएको छ । पूर्वाञ्चलका १६ वटा जिल्ला मध्ये सिरहा र सप्तरी बाहेक १४ वटा जिल्लालाई समेटेर प्रदेश नम्बर १ बनाइएको छ । १६ वटा जिल्ला रहेको पूर्वाञ्चलमा डीआईजी प्रहरी प्रमुख रहिरहेका बेला १४ वटा जिल्ला मात्रै समेटेर बनाइएको १ नम्बर प्रदेशको प्रहरी प्रमुखका रुपमा एआईजीलाई पठाइएको हो । एआईजी आइसकेपछि क्षेत्रीय प्रहरी कार्यालयका रुपमा रहेको कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा संचालन गर्ने बताइए पनि अहिले सम्म त्यसको तयारी भने गरिएको छैन । प्रदेश १ को डीआईजीका रुपमा ज्ञानविक्रम शाहाको सरुवा भएको छ । अव डीआईजीले एआईजी मातहतमा रहेर काम गर्नु पर्ने छ । २०२५ साल मंसिरबाट पूर्व क्षेत्रीय प्रहरी प्रमुखका रुपमा सरकारले डीआईजीलाई पठाउन थालेको थियो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here