प्रदेश राजधानीका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
विराटनगर, १३ फागुन । विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । आज प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर रहेको जनाएको हो ।
विराटनगर महानगरले नगरका विभिन्न स्थानमा रहेका ऐलानी तथा सरकारी स्वामित्वका जग्गाहरू प्रदेश सरकारले स्थायी संरचना निर्माणका लागि प्रयोग गर्न प्रस्तावसमेत गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर महानगरपालिकाका विभिन्न वडामा सरकारी स्वामित्वका प्रर्याप्त जग्गाहरू रहेकाले त्यस्ता जग्गाहरूमा राजधानीका स्थायी संरचना बनाउन सकिने बताउनुभयो
उहाँले प्रदेश सरकारलाई आबश्यक परे थप जग्गासमेत महानगरपालिकाले खरिद गरेर उपलब्ध गराउने स्पष्ट पार्नुभयो । यता प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश राजधानीका लागि स्थायी संरचना निर्माण गर्न प्रदेश सरकारसँग छलफल गर्ने बताउनुभयो । भण्डारीले प्रदेशसभाका लागि र्बैठक हल साँघुरो भएकाले तत्कालै हलको व्यवस्था गर्नेबारे प्रदेशसरकारसँग छलफल पनि भइसकेको जानकारी गराउनुभयो ।
राजधानी तोकिइसकेकाले त्यसै अनुरुपका संरचना बन्नु जरुरी रहेको भण्डारीको भनाई छ । विराटनगर महानगरपालिकाले बुझाएको ज्ञापनपत्रमा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानका जग्गामा प्रदेशको स्थायी संरचना निर्माणको प्रस्ताव गरिएको छ । वडा नम्बर १ देखि १९ सम्मका उपयुक्त जग्गामा प्रदेश सरकारले स्थायी संरचना निर्माण गर्नसक्ने महानगरपालिकाले जानकारी दिएको छ ।