Tune to BFM 91.2|Biratnagar

प्रदेश १ का मुख्य न्यायाधीवक्तालाई कोरोना संक्रमण

विराटनगर, १९ साउन । प्रदेश १ सरकारको कानुन हेर्ने उच्च ओहोदाका व्यक्तिसहित परिवारका तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ को मुख्य न्यायाधीवक्ता कार्यालयका प्रमुखसहित उहाँका छोरा र श्रीमीतीमा कोरोना देखिएको हो । प्रदेश सरकारको उच्च ओहोदामा बसेकालाई संक्रमण भएको यो नै पहिलो घटना हो ।

विराटनगर महानगरपालिका–५ घर भएका मुख्य न्यायाधीवक्ता र उहाँका परिवारका सदस्यको रिपोर्ट गयराति पोजेटिभ आएको हो । कोरोनासँग मिल्ने केही लक्षण देखिएपछि परीक्षणका लागि उहाँसहित तीनै जनाको स्वाब संकलन गरिएको थियो ।

एक साता अघि उहाँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । केही दिन ज्वरो पनि आएको थियो । तर औषधि खाएर निको भइसक्यो भन्दै बसेका उहाँको स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित तीनै जनालाई आइसोलेसमा भर्ना गर्ने तयारी भइरहेको जनाइएको छ । मुख्य न्यायाधीवक्तामा भएको संक्रमणको स्रोत खुल्न नसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ‘कुनै ट्राभल हिस्ट्रीनै नभएका उहाँमा कोरोना देखियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘जसले समुदायस्तरमा संक्रमण फैलिएको पुष्टि गर्छ ।’ विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले संक्रमणको पछिल्लो घटनाले उच्च ओहोदामा रहेकाहरु पनि सुरक्षित छैनन् भन्ने पुष्टि गरेको बताउनु भयो ।

त्यही भएर सबैले कुनै खाले लापरबाही नगरिकन विशेष सावधानी अपनाउनुको विकल्प नभएको उहाँको सुझाव छ । विराटनगरमा मुख्य न्यायाधीवक्ताको कार्यालय र प्रदेशको हुलाक निर्देशनालयको काम कारबाही एउटै भवनबाट सञ्चालन भइरहेको छ ।

भवनको तल्लो तलाबाट हुलाक र माथिल्लो तलाबाट मुख्य न्यायाधीवक्ताको कार्यालयको काम हुँदै आएको हो ।

मुख्य न्यायाधीवक्तालाई कोरोना देखिएपछि हुलाकका कर्मचारीहरु त्रसित बनेका छन् । स्वाब संकलन गरेर उनीहरुलाई पनि कोभिड–१९ को दायरामा ल्याउनु पर्ने आवाज उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button