Tune to BFM 91.2|Biratnagar

प्रदेश १ मा सशस्त्र प्रहरीको महत्वपूर्ण अभियान संचालन

विराटनगर, २ भदौ । तस्करी नियन्त्रण र सीमा सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रित गर्दै प्रदेश १ मा महत्वपूर्ण एवं विशेष अभियानको थालनी गरेको छ । सशस्त्रको सक्रियतामा भारतसँग सीमा जोडिएका प्रदेश १ का विभिन्न वडाहरुमा जनप्रििनधिको नेतृत्वमा सुरक्षा निकाय र सिमावर्ती क्षेत्रका सर्वसाधारण सम्मिलित ‘सीमा निगरानी समिति’ गठन गर्न थालिएको हो । समितिले सीमा सुरक्षामा देखिने र आइपर्ने विभिन्न समस्या समाधानको पहल गर्ने छ । साथै सीमालाई व्यवस्थित एवं सुरक्षित बनाउन पनि सहयोग पुग्ने अपेक्षा सशस्त्रले गरेको छ ।

सीमा सुरक्षामा सबै पक्षको साथ खोज्दै सशस्त्रले सिमावर्ती क्षेत्रमा जनप्रतिनिधिको नेतृत्वमा राजनैतिक दल, विभिन्न निकाय, स्वास्थ्यकर्मी, सामाजिक संघ संस्था र सुरक्षा निकायका प्रतिनिधि एवं नागरिक अगुवा, बुद्धिजिवी तथा सीमा क्षेत्रका बासिन्दा सम्मिलित संयन्त्र तयार पारिरहेको हो । जनस्तरमै बनेको संयन्त्रले मजवुत सुरक्षा तथा सीमा अपराध र अवैध धन्दा नियन्त्रणमा सशस्त्रलाई आवश्यक सहयोग गर्नेछ । संयन्त्रमार्फत सीमाका समस्याको पहिचान एवं त्यहाँका बासिन्दाको आवश्यकता र अवस्था पनि अध्ययन गर्न थालिएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालको नेतृत्वमा नेपाल–भारत सीमा क्षेत्रमा पहिलो पटक महत्वपूर्ण अभियान संचालन भएको हो । सीमामा हुने गरेका तनाव, अवैध गतिविधी एवं धन्दा, तस्करी र अन्तरदेशीय अपराध नियन्त्रण तथा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा मजवुत बनाउन दाहालले नयाँ अवधारणा लागू गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button