प्रदेश–१ मा ९४ प्रतिशत रोपाइँ

विराटनगर, १८ साउन । प्रदेश–१ मा करिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार साउन १८ गते सम्ममा ९३.९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको हो । समयमै मनसुन सुरू भएर पर्याप्त वर्षा भएका कारण यो वर्ष धान खेती हुने अधिकांश क्षेत्रमा छिट्टै रोपाइँ सकिएको भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कुल धान रोपाइँ हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ३ लाख २० हजार २ सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । मन्त्रालयकाअनुसार उच्च पहाडी क्षेत्रमा ९५.३२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै पहाडी क्षेत्रमा ९०.२२ र तराईमा ९५.३१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । गतवर्ष यही समयसम्ममा प्रदेश १ मा ७६.६३ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको थियो । जिल्लागत रुपमा सोलुखुम्बु र ओखलढुंगामा शतप्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।

झापामा ९८ प्रतिशत, ताप्लेजुङ र संखुवासभामा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

यस्तै पाँचथरमा ८८, इलाम ९०, भोजपुर ९४, तेह्रथुम ९०, धनकुटा ८५, उदयपुर ९१, खोटाङ ८६ मोरङ ९४ र सुनसरीमा ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button