‘प्रधानमन्त्रीले संक्रमणकालको अधिकतम लाभ लिएको होला’ ः प्रचण्ड

0
52

विराटनगर, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गरेको प्रति व्यंग्य गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संक्रमणकालको अन्तिम सरकार भएको कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकतम लाभ लिएको हुनसक्ने बताउनु भयो । ‘संक्रमणकालको यो अन्तिम सरकार हो,’ प्रचण्डले भन्नुभयो, ‘अहिलेको मन्त्रिपरिषदलाई अन्तिम भएकै कारण शेरबहादुरजीलाई अधिकतम लाभ लिने छुट भएको होला ।’ २ नम्बर प्रदेशका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न आउनु भएका प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले अत्यन्तै विकृत ढंगले पैसा खर्च गर्नुपरेको बताउनु भयो । ‘मैले २ नम्बर प्रदेशको निर्वाचनलाई नजिकबाट हेरिरहेको छु, पार्टीहरुले अत्याधिक पैसा खर्च गरेको देखेको छु,’ प्रचण्डले भन्नुभयो, ‘यो निर्वाचन प्रणाली नफेरेसम्म यो समस्या ज्यूँका त्यूँ रहने देखिन्छ ।’ प्रचण्डले प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद निर्माण गर्ने व्यवस्था नबनाएसम्म समस्या समाधान नहुने पनि बताउनु भयो । ‘२ नम्बर प्रदेशको निर्वाचनमा के हुन्छ अहिले नै भन्न सकिँदैन,’ प्रचण्डले भन्नुभयो, ‘निर्वाचन प्रणालीको त्रुटीका कारण मत प्रभावित पार्ने र पैसा खर्च गर्ने देखिएको छ ।’ मधेशका जनताले माओवादीलाई माया गरेको र पार्टी प्रवेशको लहर चलेको आफूले पाएको बताउँदै उहाँले अहिलेको निर्वाचनबाट दुईवटा अतिवाद परास्त हुनुपर्ने निष्कर्षमा जनता पुगेको दाबी गर्नुभयो । ‘केही समय अघि अति उच्च अहंकार राष्ट्रवाद र मधेश टुक्र्याउने अति राष्ट्रवादका कारण समस्या सिर्जना भएको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले मधेशमा त्यो दुवै समस्या हल भएको छ र माओवादीप्रतिको आकर्षण बढेको छ ।’ अर्को प्रसंगमा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष प्रचण्डले आयल निगमको जग्गा खरिद प्रकरणमा भ्रष्टाचार भएको छ भने कारबाही गर्नुपर्ने बताउनु भयो । ‘बेथिति भएको हो भने गम्भिर रुपमा लिएर कडा कदम चाल्नु पर्छ,’ प्रचण्डले भन्नुभयो, ‘मैले मन्त्री शिवकुमार मण्डललाई पनि भनेको छु, यो कदापि छुट दिइनु हुँदैन ।’

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here