Tune to BFM 91.2|Biratnagar

प्रशासनले बन्द गर्न निर्देशन दिएको विराटनगरको म्याक्स अस्पतालमा संक्रमितको मृत्यु

विराटनगर, ९ मंसिर । जिल्ला प्रशासन कार्यालय मोरङले तत्काल कोरोना भाइरस संक्रमितको उपचार बन्द गर्न निर्देशन दिएको विराटनगरको म्याक्स अस्पतालमा एक जना संक्रमित महिलाको मृत्यु भएको घटना बाहिरिएको छ ।

बिना अनुमति कोभिड अस्पताल सञ्चालन गरेर संक्रमितको उपचार गरिरहेको पाइएपछि गत कात्तिक २१ गते प्रशासनले बन्द गर्न निर्देशन दिएको थियो । निर्देशन अवज्ञा गर्दै अस्पतालले नयाँ संक्रमितको भर्ना लिएर उपचार गरिरहेको फेला परेपछि प्रशासनले छानबिन थालेको छ । विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा रहेको अस्पतालले कात्तिक पहिलो साताबाट अन्य सेवा बन्द गरेर संक्रमितको उपचार सुरु गरेको थियो ।

हालसम्म म्याक्स अस्पतालमा उपचाररत ११ संक्रमितको ज्यान गइसकेको छ । पछिल्लो समय उदयपुर घर भएकी कोरोना संक्रमित महिलाको गत आइतबारसाँझ ६ः३० बजेतिर मृत्यु भएपछि अस्पतालले निर्देशन उल्लंघन गर्दै बद्मासीपूर्ण ढंगबाट संक्रमितको उपचार गरिरहेको खुलासा भएको हो । अत्याधिक रक्तश्राव भएकोभन्दै उपचारका लागि शनिबार भर्ना गरिएकी उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भर्ना गरेर उपचार थालेपछि महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिनु भयो । नोबेल अस्पतालबाट रेफर भएर आएपछि भर्ना लिएर भेन्टिलेटरमा राख्दै उपचार थालिएको उहाँको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बिना अनुमति मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि बन्द गर्न निर्देशन दिएको भए पनि अस्पतालले अटेर गरिरहेको पाइएको बताउनुभयो । ‘

अनुमति नलिइ र संक्रमितको उपचार गर्ने कुनै पनि मापदण्ड पूरा नगरिकन कोरोना अस्पताल सञ्चालन गरेको पाइयो,’ उहाँले भन्नुुभयो, ‘उपचारका लागि आउने संक्रमितसँग दैनिक ८० हजारसम्म शुल्क उठाएको गुनासो आएपछि अनुगमन गरेर बन्द गर्न निर्देशन दिइएको हो ।’ प्रजिअ निरौलाले बन्द गर्न निर्देशन दिएको अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएको विषयमा छानबिन थालिएको जानकारी दिनु भयो ।

उपचार बन्द गर्न निर्देशन दिएको अस्पतालमा संक्रमितको मृत्यु भएको बाहिरिएपछि प्रशासनले हिजो दिउँसो पुनः अनुगमन गरेको छ । अस्पतालले पुनः संक्रमितको भर्ना लिएर उपचार थालेको र बिरामीको मृत्यु नै भएको पाइएपछि अब भने संक्रामक रोग निवारण ऐन २०२० अनुसार कारबाही अघि बढाइने निरौलाले बताउनु भयो ।

अस्पतालका प्रशासन प्रमुख मेहताले प्रशासनले बन्द गरिदिएपछि नयाँ संक्रमितलाई भर्ना नलिएको दाबी गर्नु भयो । सरकारले तोकेको शुल्कका भरमा संक्रमितको उपचार गर्न नसक्ने बताउँदै मेहताले कोभिड अस्पताल सञ्चालनका विषयमा छलफल भइरहेको उल्लेख गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button