प्रहरीमाथि औंला तेस्र्याउने वातावरण बन्दैन : एसपी खड्का

विराटनगर, १३ असार । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले आफ्नो कार्यकालमा कसैले पनि प्रहरीमाथि औंला तेस्र्याउने वातावरण नबनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

शान्ति सुरक्षालाई मजवुत बनाउनेदेखि लिएर अपराध नियन्त्रण एवं अनुसन्धानलाई अघि बढाउने क्रममा कोही कसैले पनि प्रहरीमाथि प्रश्न गर्ने वातावरण नबनाउने हिसाबमा आफू अघि बढ्ने उहाँको भनाइ छ ।

कानुनी व्यवस्थाको अधिनमा रहेर अशल शासन स्थापित गर्ने गरी प्रहरीले काम कारबाही अघि बढाउने उहाँले बताउनु भयो । खड्का मोरङ प्रहरी प्रमुख भएर चार दिन अघि मात्रै विराटनगर आइपुग्नु भएको हो ।

विराटनगरमा आज बिहान पत्रकार भेटघाट कार्यक्रम राखेर उहाँले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने सवालमा कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्नु भयो ।

मोरङलाई भारतसँग सीमा जोडिएको र सुरक्षाका हिसाबले निक्कै संवेदनशिल जिल्लाका रुपमा आफूले लिएको उहाँको भनाइ छ । प्रदेश १ को राजधानी पनि भएकाले विराटनगरको वस्तुस्थिति र शान्ति सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय चासो रहने हुँदा त्यही हिसाबमा प्रहरीको काम कारबाही अघि बढाइने एसपी खड्काको भनाइ छ ।

समाजलाई असर गरिरहेका कुरा र त्यसले भोलिका दिनमा ल्याउन सक्ने समस्यालाई मध्य नजर गर्दै प्रहरीले काम कारबाही अघि बढाउने खड्काले बताउनु भयो । अनुसन्धान थाती रहेका पुराना अपराधिक घटनाका फायल पल्टाएर आफ्नो कार्यकालमा सबै खालका अनुसन्धान पूरा गर्नेतर्फ पनि केन्द्रीत हुने उहाँको भनाइ छ ।

मान्छेका ज्यान गएकादेखि लिएर केही अपराधिक घटनाको अनुसन्धान मोरङमा यस अघि पूरा नभएकाले सबै पक्षको सहयोग लिएर आफ्नो कार्यकालमा पूरा गर्ने उहाँको अठोट छ । आफ्नो सबै क्षमता र विज्ञता शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन र अपराध नियन्त्रण एवं अनुसन्धानमा खर्चने खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button