प्रहरीले गौचनको हत्याको गम्भीर अनुसन्धान अघि बढायो

0
47

काठमाडौं, २५ असोज । नेपाल प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको गम्भीर अनुसन्धान अघि बढाएको छ । प्रहरीले घटनासँग जोडिन सक्ने देशभित्र र बाहिरका दुवै शक्ति–समूहलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । देशभित्रका गुन्डा समूहलगायत विभिन्न पक्ष र देशबाहिरका अन्डरवल्र्ड डनलगायत समूहको ‘सम्भावित कनेक्सन’बारे प्रहरीले एकसाथ अनुसन्धान अघि बढाएको हो । ५७ बर्से गौचनको सोमबार दिउँसो राजधानीको शान्तिनगर क्षेत्रमा गोली हानी हत्या भएको थियो । गौचनलाई गोली हानेलगत्तै आक्रमणकारी घटनास्थलबाट दौडिएर भागेका थिए । घटनाको अनुसन्धान गर्न गठित समितिले मृतक गौचनका आफन्तसँग कुराकानी गर्ने, कल डिटेल्स हेर्ने, जेलमा रहेका रमेश बाहुन लगायतसँग सोधपुछ गरेको छ । ‘छानबिन समितिले काम अघि बढाएको छ । विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं’, छानबिन समितिका एक सदस्यले भने । प्रहरीले प्रारम्भिक अनुसन्धानमा गौचनको हत्या मनोज पुन समूहले गरेको हुन सक्ने अनुमान गरेको छ । यसअघि सोमबार गौचनको हत्यालगत्तै पुन समूहका लोप्साङ लामाले काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here