प्रहरी कार्यालयबाटै पक्राउ परेर फरार प्रतिवादी
विराटनगर, १५ मंसिर । अदालतले ६ वर्षअघिनै कैद सजायको फैसला गरेको भए पनि फरार रहेका एक प्रतिवादी आज दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङबाटै पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–६ का ३१ वर्षीय अशोककुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो । साहलाई कुटपिट एवं अंगभंग मुद्दामा जिल्ला अदालत मोरङले २०७१ साल असार १५ गते दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
कैद सजाय भुक्तान नगरिकन उनी फरार रहेका थिए । आफ्नै श्रीमती पार्वती साहलाई कुटपिट गरेर अंगभंग बनाएको घटनामा साहलाई अदालतले दोषी ठहर गरेको हो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले साहलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।
प्रहरीले अनुसन्धान अघि बढाउन लागेको मोबाइल चोरी सम्बन्धी एउटा घटनाका बारेमा बुझ्नभन्दै आफै प्रहरी कार्यालय पुगेका बेला साह पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले फरार प्रतिवादी सम्बन्धी सबै विवरण अपडेट रहेकाले प्रहरी कार्यालय आएकै मौकामा साहलाई पक्राउ गरिएको बताउनु भयो । खड्काले अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले सक्रियता बढाएको जानकारी पनि दिनु भयो ।
फैसला कार्यान्वयन अन्तर्गत विभिन्न अपराध एवं घटनामा दोषी ठहर गरेर कैद वा जरिवानाको सजाय सुनाए पनि भुक्तान नगरिकन फरार रहेका प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने गरिएको उहाँको भनाइ छ ।