प्रहरी कुट्ने अदालतका अधिकृत विरुद्ध मुद्धा

0
32

विराटनगर, २८ भदौ । ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने उच्च अदालत विराटनगरका अधिकृत नारायण प्याकुरेल विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको छुट्टा छुट्टै प्रतिवेदनलाई आधार बनाएर जिल्ला प्रहरी कार्यालय मोरङले प्याकुरेल विरुद्ध मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । अत्यधिक मादक पदार्थ सेवन गरेर को ३० प ८४१० नम्बरको स्कुटर चलाउँदै आएका प्याकुरेलले विराटनगरको अति नै व्यस्त रहने जलजला चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान पर्शुनारायण सिंहमाथि सोमबार साँझ ७ बजे कुटपिट गरेका थिए । कुटपिट गरेर भाग्न खोज्दा नियन्त्रणमा लिने क्रममा वडा प्रहरी कार्यालय विराटनगरका हवल्दार निर्मल कार्कीमाथि पनि उनले मुक्का प्रहार गरेका थिए । स्कुटर चलाएर उत्तरबाट जलजला चौकमा आइपुगेका प्याकुरेलले ‘वनवे’ रहेको शनिमन्दिरतर्फ स्कुटर मोड्न खोजेपछि ट्राफिक प्रहरी जवान सिंहले रोक्न खोजेका थिए । त्यही क्रममा बादविवाद गर्दै प्याकुरेलले ड््युटीका प्रहरीमाथि कुटपिट गरेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाले बताउनु भयो । उनी विरुद्ध मुद्धा नचलाउन र घटनालाई मिलाउनका लागि प्रहरीलाई ठूलो दवाव आएको थियो । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले ड्युटीमा रहेका बेला प्रहरीमाथि कुटपिट गर्ने विरुद्ध मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो । ‘आफ्नो ड्युटी गरिरहेका बेला प्रहरीलाई कुटपिट गरिएको छ,’ उहाँले भन्नु भयो, ‘घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ ।’

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here