Tune to BFM 91.2|Biratnagar

लागुऔषध कारोबारी र प्रहरीबिच झडप

विराटनगर, १६ साउन । मोरङको बूढीगंगा गाउँपालिका–१ खोरैयामा प्रहरी टोलीमाथि गयराति आक्रमण भएको छ ।

लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्री गर्ने काम भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिन गएको जिल्ला प्रहरी कार्यालय मोरङको टोलीमाथि गाउँलेले घेरा हालेर आक्रमण गरेका हुन् ।

लागुऔषध नियन्त्रणमा लिनका लागि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा सादा पोसाकको टोली परिचालन गर्नु भएको थियो । थप मद्धतका लागि गएको हतियारसहितको टोली पुग्न नपाउँदै सादा पोसाकको टोलीमाथि आक्रमण भएको एसपी खड्काले बताउनुभयो ।

उहाकाअनुसार प्रहरी पुग्न साथ स्थानी बासिन्दा लाट्ठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए । गाउँलेको आक्रमणमा परेर तीन जना प्रहरी घाइते भएका छन् । प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी घाइते भएको एसपी खड्काले बताउनु भयो । घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । प्रहरी जवान बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ ।

अरु घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । आक्रमणमा प्रहरीले बोकेका मोबाइल पनि फुटेका छन् । प्रहरी आएको थाहा पाएर लागुऔषधको अवैध कारोबार गर्ने व्यापारीले गाउँलेलाई उकासेर आक्रमण गर्न लगाएको खुलेको एसपी खड्काले बताउनु भयो । आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गरेको जानकारी उहाँले दिनु भयो ।

‘तत्काल हवाई फायर नगरेको भए आक्रमणबाट थप क्षति बेहोर्नु पर्ने अवस्था आउने थियो,’ खड्काले भन्नु भयो । त्यसपछि ठूलो संख्यामा परिचालित प्रहरी टोलीले घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ ।

आक्रमण भएपछि प्रहरीले स्थानीय स्तरमा स्टोर गरेर राखेको भनिएको लागुऔषध भने बरामद गर्न सकेन । प्रहरीले लागुऔषधको अवैध कारोबार गर्नेहरुको पहिचान गरेर खोजी थालिएको जनाएको छ ।

घटनामा संलग्नहरु ३६ वर्षीय बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेवलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको एसपी खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button