Tune to BFM 91.2|Biratnagar

प्रहरी र स्थानीयको विवादले आँपगाछीमा तनाव

विराटनगर, ४ भदौ । प्रहरी र स्थानीय बासिन्दाको विवादका कारण मोरङको रंगेली नगरपालिका–५ आँपगाछीको अवस्था गयराति तनावपूर्ण बनेको भएपनि आज साम्य भएको छ ।

मदिरा पसल बन्द गराउँदै गएको प्रहरी र स्थानीयबीच विवाद हुँदा साँझ ७ बजेबाट राति ११ बजेसम्म अवस्था तनावग्रस्त बनेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाई गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

मदिरा पसल बन्द गर्न र भीडभाड नगर्न आग्रह गर्दा नमानेका कारण प्रहरीले बल प्रयोग गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ । बल प्रयोग गर्ने क्रममा प्रहरीले नियम उल्लंघन गर्नेहरुमाथि लाठी प्रहार गरेसँगै आँपगाछीको अवस्था असामान्य बनेको थियो ।

प्रहरीको विरोधमा उत्रिएका स्थानीय बासिन्दाले राति ११ बजेसम्म आँपगाछी प्रहरी चौकी घेराउ गरेका थिए। त्यसक्रममा ढुुंगामुडा र तोडफोड गर्दै सयौंको संख्यामा रहेका स्थानीयले चौकीको सुरक्षाका लागि बनाइएको बाँसको टाटीको बेरा भत्काइदिएका छन् । प्रहरीको विरोधमा उत्रिएकाहरुले प्रहार गरेको ढुंगाले लागेर नेपाल प्रहरीका असइ (सहायक निरीक्षक) सन्तोष यादव घाइते भएको एसपी खड्काले बताउनु भयो ।

यादवको टाउको फुटेको छ । प्रहरीले स्थिति नियन्त्रण बाहिर जान लागेपछि एक राउण्ड हवाई फायर पनि गरेको छ । छलफल गरेर समस्याको समाधान खोजिने र घटनाको छानबिन गर्ने भन्दै प्रहरीले सबैलाई सम्झाईबुझाई गरेर पठाएपछि राति ११ बजेपछि तनाव साम्य भएको थियो ।

वडाअध्यक्ष महानन्द मण्डलले कोरोना महामारीका कारण कडाई गर्ने क्रममा सम्झाईबुझाई गर्नु पर्ने भए पनि प्रहरीले सुरुमा लाठी प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको बताउनु भयो ।

मण्डलले प्रहरीको लाठी लागेर स्थानीय केहीलाई चोट समेत लागेको बताउनु भयो । उहाँका अनुसार रंगेली ५ मा हालसम्म ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button