Tune to BFM 91.2|Biratnagar

फ्रान्सबाट आएकी नेपाली विद्यार्थीलाई कोरोना भएको पुष्टि

काठमाडौं, १० चैत । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।फ्रान्सबाट गत चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्समा अध्ययनरत ती किशोरीमा संक्रमण देखिएको पुष्टि गर्नुभएको हो ।ती किशोरीको काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न आएकी उनमा कोरोनाभाइरसको संक्रमण रहेको हिजो साँझ पुष्टि भएको थियो ।उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’मा बसेकी थिइन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीको परिवारलाई क्वारेन्टाइनमा राखिएको भन्दै उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् भनेर खोजी गरिरहेको जानकारी दिनुभयो ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button