बक्राहाका कारण चार परिवार विस्थापित, डेढ सय घर जोखिममा

विराटनगर, ६ साउन । मोरङको सुनवर्षी नगरपालिका–७ बाट हिजोसाँझ बाँध फुटाएर बक्राहा खोला बस्तीतिर पसेको छ ।

चैता र मल्धैयाको बीचबाट १५ मिटर जति बाँध तोड्दै खोलो बस्तीमा पसेपछि चार परिवार विस्थापित बनेका छन् । सतारु ऋषिदेव, विलाश ऋषिदेव, बरुण ऋषिदेव र लक्ष्मण ऋषिदेवको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

बाढीले घरमा क्षति गरेपछि सतारुको पाँच, विलाशको तीन, बरुणको छ र लक्ष्मणको चार जनाको परिवारले बासस्थान छाड्नु परेको हो । बाढीसहितको खोलो गाउँ पसेका कारण विस्थापित बनेका उनीहरुलाई उद्धार गर्दै नजिकैको विद्यालयमा लगेर राखिएको छ ।

बाढी पीडितको उद्धारका लागि नगरपालिकाका मेयर कालीप्रसाद दास लगायतका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको नेत्रृत्वमा प्रहरी खटिएका थिए ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले रातभर अस्थायी बाँध बनाउँदै नियन्त्रण गरेर खोलोलाई पुरानै धारा फर्काउने प्रयास गरे पनि सम्भव नभएको जानकारी मेयर दासले दिनु भयो । उहाँकाअनुसार बोरामा माटो भर्दै र बाँस गाड्दै खोलो नियन्त्रणको प्रयास गरिएको थियो ।

खोलो बाँधबाट पसेर बस्तीदेखि बग्न थालेपछि सुकुुम्बासी बस्तीका डेढ सय घरपरिवार जोखिममा परेको छन् । जोखिममा परेकाहरु मल्धैयाका बासिन्दा हुन् ।

उनीहरुलाई सुरक्षित स्थानतर्फ सर्न र सतर्क रहन आग्रह गरेर उद्धार गरेर जोखिमबाट मुक्त गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ । मेयर दासले खोलो तत्काल नियन्त्रण गर्न नसके धनजनको ठूलो क्षति हुन सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button