बलात्कार गरेर बालिकालाई गर्भवती बनाउने पक्राउ

विराटनगर, २६ वैशाख । बलात्कार गरेर १६ वर्षीया बालिकालाई गर्भवती बनाएको अभियोगमा मोरङको पथरीशनिश्चरे नगरपालिका– ८ का ४८ वर्षीय राजन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।

लिम्बूले दलित परिवारकी बालिकालाई छ महिनादेखि पटक–पटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले स्वास्थ्य परीक्षणबाट बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेको बताउनु भयो । उहाँकाअनुसार स्वास्थ्य परीक्षणका लागि बालिकालाई हिजो कोसी अस्पताल विराटनगर ल्याइएको थियो ।

लिम्बूले विभिन्न डर, धम्की देखाएर बलात्कार गरेका कारण आफू गर्भवती हुँदा पनि घटना बाहिर ल्याउन बालिका डराएको डीएसपी गिरीको भनाइ छ ।

उहाँकाअनुसार लामो समयदेखि महिनावारी रोकिएर पेट बढ्दै जानुका साथै खान समेत मन नगर्ने गरेपछि अभिभावकले सोधपुछ गर्दा बलात्कारबाट पीडित बनेकी बालिका गर्भवती समेत रहेको खुलेको हो ।

बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दिएको थाहा पाएर भाग्दै गरेको अवस्थामा लिम्बूलाई गयराति पक्राउ गरिएका गिरीको भनाइ छ । पक्राउ परेका लिम्बू विरुद्ध जवरजस्ती करणी मुद्धा चलाउन अनुसन्धान सुरु गरिने प्रहरीको भनाइ छ ।

डीएसपी गिरीले बलात्कार पीडित गर्भवती बालिकालाई भने संरक्षणका लागि ओरेक नेपालको जिम्मा लगाइएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button