बाक्लो हुस्सुका कारण बढ्दै सवारी दुर्घटना

0
208

 

विराटनगर, २४ पुस । एक सातादेखि लागिरहेको बाक्लो हुस्सुका कारण पूर्वी तराईका सडक र राजमार्गमा सवारी दुर्घटना बढिरहेको छ । सातायता भएका दुई दर्जन सवारी दुर्घटनाको मुख्य कारण बाक्लो हुस्सु नै रहेको निस्कर्ष ट्राफिक प्रहरीले निकालेको छ । दुर्घटनामा छ जनाको मृत्यु भइसकेको छ । ट्राफिक प्रहरीका अनुसार लगातारको हुस्सुले नजिकैको दृष्य पनि चालकले राम्ररी ठिम्याउन नसक्दा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुन थालेको हो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले हुस्सुका कारण सडकको ‘भिजिविलिटी डिस्टेन्स क्लियर’ नहुँदा दैनिक जसो सवारी दुर्घटना हुने क्रम बढेर गएको जनाएको छ । बस चालक रमेश ठकुरी हुस्सुले बाटो नदेखिंदा अनुमानका भरमा गाडी कुदाउनु परेको बताउनु हुन्छ । उहाँले हुस्सुका कारण सडकको साईड छुट्याउन पनि गाह्रो पर्ने गरेको बताउनु भयो । अन्दाजका भरमा गाडी कुदाउँदा दुर्घटनाको जोखिम बढेर गएको ठकुरीको भनाइ छ । सडकमा लेन नछुट्याएका कारण पनि चालकले धेरै समस्या बेहोर्नु परेको उहाँको गुनासो छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले हुस्सुले सवारी साधन संचालनमा समस्या निम्त्याउँदा दुर्घटना बढेर गएको बताउनु भयो । ‘हुस्सुले सवारी साधनका ऐना र सिसामा ‘भिजिविलिटी’ समस्या निम्त्याएको छ,’ उहाँले भन्नु भयो, ‘राम्रोसंग अगाडि र पछाडि नदेखिंदा चालकले जोखिम मोलेर गाडी कुदाइरहेका हुन्छन् ।’ हुस्सुले ढपक्कै ढाक्दा चालकले सडकमा अलि पर सम्म देख्न सक्ने अवस्था पनि नरहने र झ्याल ढोका बन्द गरिंदा अन्य सवारी साधनले साईड माग्दा पनि थाहा नपाउने भएका कारण दुर्घटनाको जोखिम बढी हुने कटवालको भनाइ छ । हुस्सुले दुर्घटना बढ्न थालेपछि नियन्त्रित गतिमा होस गरेर मात्रै सवारी चलाउनका लागि नेपाल र ट्राफिक प्रहरीले राजमार्गमा संयुक्त रुपमा चेकिङ खडा गरेर चालकलाई सचेत गराउन थालेको जानकारी कटुवालले दिनु भयो । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले एउटा सवारी साधनले छेउमै आइसकेपछि मात्रै अर्को सवारी साधन देख्ने भएका कारण नियन्त्रण गर्न कठिन भएर एकआपसमा ठोक्किएर पनि दुर्घटना भइरहेको बताउनु भयो । तीव्र गतिमा चलाइएका सवारी साधन ‘भिजिविलिटी’ नभएका कारण घुम्ति र मोडहरुमा नियन्त्रण गर्न कठिन परेर सडकबाट तल खस्ने पनि समस्या रहेको उहाँले सुनाउनु भयो । लम्सालले हुस्सु लागेका बेला सवारी चलाउँदा चालकले सावधानी अपनाउनुको विकल्प नरहने पनि बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here