Tune to BFM 91.2|Biratnagar

बाढी पसेपछि सप्तरीको हनुमाननगरका ७५ परिवार बिस्थापित

विराटनगर, २७ असार । निरन्तरको वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाका ७५ परिवार बिस्थापित भएका छन् ।

चारैतिर कोशी नदीले घेरिएको सो गाउँमा बाढी पसेपछि घर डुवानमा परेका ७५ परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरि उच्च स्थानमा रहेको राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पुर्याइएको छ ।

टप्पु गाउँको नामले चिनिएको गोबरगाढामा पुग्ने मार्गहरु डुवानमा परेपछि डुङ्गामा राखेर उनीहरुलाई सुरक्षित स्थानतर्फ पुर्याउने काम गरिएको वडा अध्यक्ष बिन्देश्वर यादवले जानकारी दिनुभयो ।

सप्तकोशीमा निरन्तर पानीको बहाव बढ्दै गएकाले मानविय क्षति हुन नदिन राहत तथा उद्धार कार्यका लागि त्यसतर्फ ठूलो संख्यामा आवश्यक सामाग्रिसहित सुरक्षाकर्मी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै निरन्तरको वर्षाले तिलाठी कोइलाडी गाउँपालिकका झण्डै १ सय ३० विगहा जग्गामा लगाइएको धान खेती बगरमा परिणत भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताउनुभयो ।

यसैबीच निरन्तरको वर्षासँगै सप्तरी र सुनसरीको सीमामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव उच्च बन्दै गएको छ । आज साँझ सम्म मापन अनुसार पानीको बहाव २ लाख ७६ हजार ५ सय ५५ क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।

जसकारण आसपासका बासिन्दालाई सचेत गराउन खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ भने कोशी ब्यारेजका ५६ मध्ये ४० ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button