बालबालिकामा हाईपोथर्मियाको समस्या

0
199

विराटनगर, २ माघ । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण धेरै जसो बालबालिकामा हाईपोथर्मिया (सिताङ्ग) को समस्या देखा पर्न थालेको छ । विराटनगरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा हाईपोथर्मियाको समस्या भएका बालबालिकालाई उपचारका लागि ल्याउने क्रम बढेर गएको छ । चिकित्सकका अनुसार बच्चाको शरीरमा तापक्रम कम भएर उत्पन्न हुने स्वास्थ्य सम्बन्धी कडा समस्या हाईपोथर्मिया हो । यसले विभिन्न रोगको संक्रमणलाई निम्तन पनि सहज बनाइदिने र बच्चाको ज्यानै जाने खतरा रहने कोसी अञ्चल अस्पताल विराटनगरका बरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालले बताउनु भयो । केहीदिनदेखि उपचारका लागि ल्याइएका नवजात शिशु र बालबालिकामा यो समस्या देखा परिरहेको उहाँको भनाइ छ । ‘चिसो केही दिनदेखि अत्यधिक बढेको छ,’ डा. अग्रवालले भन्नु भयो, ‘चिसोले बालबालिका बढी प्रभावित भएका कारण स्वास्थ्य सम्बन्धी कडा समस्या देखा पर्न थालेको पाइयो ।’ उहाँका अनुसार चिसो बढेसंगै हेरचाहमा अभिभावकले ध्यान पुर्याउन नसक्दा बालबालिकामा हाईपोथर्मियाको समस्या अत्यधिक मात्रमा बढेको पाइएको छ । बालबालिका र नवजात शिशुलाई चिसोबाट बचाउन नसक्दा ज्यानै लिने हाईपोथर्मिया हुने उहाँले बताउनु भयो । अग्रवालका अनुसार बालबालिकाको शरीर निलो हुँदै जानु, हातखुट्टा चलाउन गाह्रो हुनु, दूध र अन्य खानेकुरा नखानु तथा शरीरको तापक्रम अत्यन्तै कम हुनु हाईपोथर्मियाको लक्ष्यण हो । ‘बच्चालाई यसबाट बचाउन बच्चा र कोठालाई न्यानो राख्नु पर्छ,’ अग्रवालले भन्नु भयो, ‘बच्चाको शरीरको तापक्रमलाई ‘मेन्टेन’ गर्न सकियो भने यो समस्या आउँदैन ।’ चिकित्सकका अनुसार बच्चाको शरीरको औषत तापक्रम ३६ं.५ देखि ३७.५ सेन्टीग्रेड हुनु पर्छ । ३६ं.५सेन्टीग्रेड भन्दा कम तापक्रम भयो भने हाईपोथर्मियाको समस्या निम्तने खतरा हुने उहाँले बताउनु भयो । शरीरको तापक्रम कम हुँदै गएर ३२ डिग्री भन्दा कम हुन पुगेमा हाईपोथर्मिया सम्बन्धी कडा समस्या निम्तने र बच्चाको ज्यानै जाने भन्दै चिकित्सकले बच्चाको शरीरको तापक्रममा ख्याल पुर्याउन पनि आग्रह गरेका छन् । सरसफाई र तापक्रममा ध्यान दिएर आमाको दूध नियमित खुवाउँदै न्याना लुगा र नियमित खोप लगाउने गर्दा यसको समस्या देखा नपर्ने डा. अग्रवालले बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here