On Air BFM 91.2|Biratnagar

बिराटनगर र धरानका दुईजना संक्रमितको मृत्यु

विराटनगर, २२ असोज । बिराटनगर र धरानका दुईजना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि होम आइसोलेसनमै राखिएका विराटनगरका एक वृद्ध पुरुषको आज बिहान मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहान ६ः३० बजेतिर मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताउनु भयो । उहाँका अनुसार ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

१९ गते रिपोर्ट पोजेटिभ आए पनि होम आइसोलेसनमै राखिएका वृद्धको मृत्यु भएपछि उपचारका लागि कोभिड अस्पताल लैजान नपाइएको उहाँको भनाइ छ । गय रातिबाट वृद्धको स्वास्थ्यमा थप समस्या देखिएको थियो । पौडेलले शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी दिनु भयो ।

यसैबिच सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको हो ।असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।

योसँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।प्रतिष्ठानमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ भने पुगेको छ ।

Leave a Reply

Your email address will not be published.

Call Now Button