बिराटनगर र धरानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, २ कात्तिक । बिराटनगर र धरानमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेजमा २ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको मृत्यु भएको हो ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा हिजो बेलुका रिपोर्ट पोजेटिभ आएका कोरोना भाइरस संक्रमित एक वृद्धको बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ का ७५ वर्षीय वृद्धको आज बिहान ४ बजेतिरै मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले बताउनु भयो ।

उहाँका अनुसार उपचारकै क्रममा बिहान वृद्धको मृत्यु भएको हो । दाहालले उपचारकै क्रममा ज्यान गुमाएका मृतकमा फोक्सो सम्बन्धी पुरानै समस्या रहेको बताउनु भयो ।यस्तै नोबेल शिक्षण अस्पतालमा नै अर्का कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध पुरुषको आज बिहान मृत्यु भएको छ ।

मृतक पहिल्यैदेखि क्यान्सरको समस्याबाट पीडित रहेको पाइएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा बिहान ९ बजेतिर मृत्यु भएको हो ।

कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको दाहालको भनाइ छ । यता कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय एक पुरुषको राति १०ः५५ बजेतिर मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा असोज १३ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई त्यहीदिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको बस्नेतले बताउनु भयो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको उहाँको भनाइ छ ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्ध पुरुषको पनि मृत्यु भएको छ ।सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय कोरोना वृद्धको उपचारका क्रममा आइतबार बिहान ३ः०५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले बताउनु भयो।

उनमा मुटु सम्बन्धी पुरानै समस्या थियो ।उनलाई २६ असोजमा कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button