Tune to BFM 91.2|Biratnagar

बेलबारी बाख्रा प्रकरणको विषय अख्तियारमा

विराटनगर, ३१ जेठ । मोरङको बेलबारीको बोयर बाख्रा प्रकरणको विषय अख्तियारसम्म पुगेको छ । नगरपालिकाले किसानलाई बोयर बाख्रा वितरण गर्दा घोटाला भएको दाबीसहित बेलबारीका ६ जना युवाहरूले उजुरी दिएपछि यो विषय अख्तियारमा पुगेको हो । बेलबारीका सुजित बस्नेत, विपिन आचार्य, खेमप्रसाद गौतम, कमल सुब्बा, रिक्तबहादुर गुरुङ, विशाल थापाले अख्तियारको इटहरी कार्यालयमा पुगेर उजुरी दिएका हुन् ।

उजुरीमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, बेलबारी नगरपालिका १ का उत्तम गिरी, ग्रो अर्गानिक कृषि फर्म संखुवासभाका प्रतिनिधि भनिएका श्याम पाण्डे तथा बेलबारी नगरपालिकाका अन्य जनप्रतिनिधिकोसमेत संलग्नतामा १ करोड १ लाख रुपैयाँ बराबरको घोटाला भएको भन्दै छानबिन गरी आवश्यक कारबाहीको माग गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीका प्रमुख बाबुराम खतिवडाले बेलबारी बोयर प्रकरणका विषयमा उजुरी आएको जानकारी दिँदै यसबारे अख्तियारले आवश्यक प्रक्रियाहरू अघि बढाउने बताउनुभयो ।

बेलबारी नगरपालिकाले जेठ १५ गते किसानलाई बोयर पाठापाठी वितरण गरेको थियो । अस्ट्रेलियाबाट सोझै चार्टर गरेर किसानलाई वितरण गरिएका भनिएका बाख्रा नेपालकै नवलपरासीको केशर एग्रो फर्मबाट ल्याएको तथ्य सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button