भद्रपुरमा १ सय बेड क्षमताको कोरोना अस्पताल बनाईने

विराटनगर, १० जेठ । झापाको मेची अस्पतालको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । सरोकारवालाको पटक–पटकको छलफलपछि आज यसको अन्तिम टुङ्गो लागेको हो ।

प्रदेश सभा सदस्य सांसद बसन्त बानियाँले मेची अस्पतालको नव निर्मित भवन कोरोना अस्पतालका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको बताउनुभयो । कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताउनुभयो । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ ।

कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटीको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ । प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि सरोकारवालाहरु छलफलमा जुटेका थिए ।

कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो । अहिलेसम्म झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button