Tune to BFM 91.2|Biratnagar

भारतीय अवरोधले विराटनगरमा अघि बढेन कल्भर्ट निर्माण

विराटनगर, १९ साउन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा कल्भर्ट निर्माणको काम अघि बढ्न सकिरहेको छैन । दसगजाबाट पाँच फिट छाडेर थालिएको कल्भर्ट निर्माणको काममा दुई साताअघि एसएसबीले रोक लगाएको थियो ।

भारतीय बजार जोगवनीबाट आउने पानीका कारण सीमा क्षेत्रअन्तर्गत नेपालतिरको भूभाग डुबानमा पर्न थालेपछि कल्भर्ट निर्माण गर्न खोजिएको वडाध्यक्ष समीर कमरले बताउनु भयो । उहाँका अनुसार नेपाली भूमिमा काम गर्न रोकेको भारतीय पक्षले आफ्नातिर भने ड्याम बनाएरै तीनवटा कल्भर्ट निर्माण गरेको छ । ड्यामका कारण बर्खाका बेला भारतीय भूमिबाट आउने पानी दसगजा हुँदै नेपाल प्रवेश गरेर सीमा क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा पर्ने गरेको कमरले बताउनु भयो । उनका अनुसार कल्भर्ट बनाउनुअघि आफूहरुसँग नसोधिएको भनेर भारतीय पक्षले काममा अवरोध गरिरहेको हो ।

आफ्नो भूमिमा डुबान हुनेभन्दै भारतीय पक्षले नेपाली भूमिमा काम गर्न नदिएको वडाध्यक्ष कमरको भनाइ छ । कल्भर्ट नबन्दा मानिसलाई आवतजावत तथा एम्बुलेन्स लगायतका आकस्मिक सवारी साधन सञ्चालनमा समस्या भइरहेको उहाँले बताउनु भयो । उनका अनुसार भारतबाट जम्मा भएर आउने पानीको डुबानबाट बच्न पनि निकासका लागि सीमा क्षेत्रमा कल्भर्ट बनाउनुको विकल्प छैन । दसगजा र नेपाली भूभागतिर फोहोर फ्याल्ने र पानीको निकास कटाउने गरेको भारतीय पक्षले नेपाली भूमिमा भने कल्भर्ट निर्माणमै अवरोध गरिरहेको गुनासो उनीहरुको छ ।

वडाध्यक्ष कमरले भारतीय भूमिबाट आउने पानीले बर्खाका समयमा इस्लामपुर क्षेत्रका कैयौं घरहरु डुबानमा पर्ने गरेका कारण त्यसकै उचित निकासका लागि काम थालिएको बताए । तर कल्भर्ट निर्माणमै भारतीय पक्षले रोक लगाएपछि काम अलपत्र परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button