Tune to BFM 91.2|Biratnagar

भिडियो खिचेको भन्दै प्रहरीको यातना उठबस गराउँदा भूइँमै ढले किशोर

विराटनगर, २२ चैत । ‘लकडाउन’का समयमा लगाउन खोजिएको साप्ताहिक हटियालाई रोक्न खोज्दा भिडियो बनाएको भन्दै प्रहरीले मोरङको पथरीशनिश्चरेमा एक किशोरलाई यातना दिएको छ । पथरीशनिश्चरे–५ का १७ वर्षीय रोहन साहलाई प्रहरीले उठबस गराउँदै थप्पड हानेको बुवा वीरेन्द्र साहले बताउनु भयो ।

साहको घर वडाअध्यक्ष जोगबहादुर धिमालको घरसँगै जोडिएको छ । घटना अनुसार पथरीशनिश्चरे–५ कुशेचौरीमा कोरोना भाइरस फैलन नदिन सरकारले गरेको ‘लकडाउन’ उल्लंघन गर्दै हिजो साँझ साप्ताहिक हटिया लगाउन खोजिएको थियो ।

प्रहरीले हटिया लाग्न दिएन । हटिया लगाउन खोज्ने र त्यसलाई रोक्न खटिएका प्रहरीबीच घम्साघम्सी र ठेलमठेल भइरहेको थियो ।

मोबाइलबाट हटिया लाग्न नदिएको भिडियो खिचेको भन्दै प्रहरीले थप्पड हानेर उठबस गर्न लगाएको बुवा वीरेन्द्रले बताउनु भयो । उहाँकाअनुसार कुशेचौरी प्रहरी चौकीका इन्चार्ज असई हरिलाल राजवंशी आफैले कुटपिट गर्दै उठबस गर्न लगाएका हुन् ।

कुटपिट गर्दै बाटोमा ल्याएर उठबस गर्न लगाएको र उठबस गर्न नसकेपछि छोरो भूइँमै ढलेको वीरेन्द्रले बताउनु भयो । ‘पाँच सय पटक उठबस गर भनेर प्रहरीले लगाए,’ वीरेन्द्रले भन्नु भयो , ‘सय पटक गरेपछि नसकेर छोरो ढल्यो ।’

असई राजवंशीले भने ‘लकडाउन’ उल्लंघन गरेको विषयमा सम्झाई बुझाई गरेको तर कुटपिट नगरेको र उठबस पनि गर्न नलगाएको बताउनु भयो । उठबस गर्ने क्रममा नसकेर भूइँमै ढलेका युवालाई भने उपचारका लागि पथरीशनिश्चरेको मोरङ हस्पिटलमा भर्ना गरिएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले कुटपिट गरेको र यातना दिएको आरोप लागेपछि घटनाका बारेमा आवश्यक अनुसन्धान र छानबिन सुरु गरिएको बताउनु भयो । असई राजवंशीलाई विभागिय कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा तानिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button