मतदातालाई मतदान स्थलदेखि घर सम्म नै सुरक्षाको प्रवन्ध

0
31

 

विराटनगर, १९ मंसिर । दोस्रो चरणमा मंसिर २१ गते बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उपयुक्त हिसावको सुरक्षा प्रवन्ध मिलाई सकिएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षा अधिकारीले सुरक्षा सवालमा प्रदेश नम्बर १ मा निर्वाचनको सबै तयारी पूरा भइसकेको पनि जनाएका छन् । सबै मतदान केन्द्र र मतदान स्थलमा निर्वाचन सामग्री सहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले मतदान गर्न जान सुरक्षाका दृष्टिकोणले मतदातालाई कुनै समस्या नरहेको स्पष्ट पार्नु भयो । उहाँले मतदातालाई मतदान स्थलदेखि घर सम्मकै सुरक्षा व्यवस्था सहितको प्रवन्ध मिलाएर विना हिचकिचाहट ‘भोट’ हाल्न जाने अवस्थाको सिर्जना गरिएको जानकारी दिनु भयो । ‘उचित हिसावको सुरक्षा प्रवन्ध मिलाइसकिएका कारण मतदाताको सुरक्षाको ग्यारेन्टी हामी गर्छौ,’ उहाँले भन्नु भयो, ‘ढुक्क भएर मतदान गर्न जाने वातावरण बनिसकेको अवस्थामा सुरक्षा सवालमा कुनै पनि कमजोरी हुन दिइने छैन ।’ उहाँका अनुसार मतदान स्थल सुरक्षाकर्मीको नियन्त्रणमा छन् । कुनै समस्या नआओस भनेर विभिन्न ठाउँमा अप्रेशन पनि जारी राखिएको छ । उपाध्यायले निर्वाचन विरोधी गतिविधी गर्ने जोकोहीलाई कुनै पनि अवस्था र बहानमा छुट नदिइने नीति रहेका कारण पनि सुरक्षा व्यवस्था मजवुत बनेर गएको प्रष्टिने बताउनु भयो । निर्वाचन सुरक्षाका लागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी सहित गरेर ४५ हजार बढी सुरक्षाकर्मी प्रदेश नम्बर १ मा परिचालन गरिएको उच्च सुरक्षा स्रोतले बतायो । तीन घेरामा निर्वाचनको सुरक्षा व्यवस्था मिलाइएको छ । मतदान केन्द्र नेपाल प्रहरीको जिम्मामा छ । त्यस भन्दा बाहिर सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षाको व्यवस्था मिलाउने बताइएको छ । उपाध्यायले निर्वाचनका बेलामा कुनै मानविय क्षति नहोस, मतदान केन्द्र सुरक्षित रहोस, मतदाता सुरक्षित रहुन् र सुरक्षित तथा भयरहित वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना होस भनेर सबै ठाउँलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर त्यही हिसावको सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो । सुरक्षा अधिकारीहरुले निर्वाचनलाई लक्षित गरेर पैदल, हवाई र मोवाइल गस्तीहरु पनि बढाइएको जनाएका छन् । क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहका अनुसार सुरक्षा प्रवन्ध मिलाउने सवालमा हेलिकोप्टरले केहीदिनदेखि नियमित हवाई गस्ती पनि गरिरहेको छ । ‘सुरक्षाकर्मीले पैदल गस्ती पनि गरिरहेका छन् । हेलिकोप्टरबाट हवाई गस्ती पनि भइरहेको छ,’ उहाँले भन्नु भयो, ‘सेनाको बख्तरबन्ध गाडीले पनि आफ्नै हिसावमा गस्ती गरिरहेको छ । संवेदनशील भनिएका मतदान केन्द्रमा पनि त्यही हिसावको सुरक्षा व्यवस्था मिलाइएको छ ।’

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here