मन्त्री घिमिरेद्धारा क्वारेन्टाईनको अनुगमन

विराटनगर, २३ जेठ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको अनुगमन गर्नुभएको छ ।

वडा नम्बर १ को शारदा आधारभूत विद्यालय र वडा नम्बर ६ को सौठा माध्यमिक विद्यालयमा रहेका क्वारेन्टाईनको मन्त्री घिमिरेले विहिबार अनुगमन गर्नुभएको हो ।

क्वारेन्टाईनको अनुगमनपछि मन्त्री घिमिरेले रतुवामाई नगरपालिकालाई एक सय थान भिटिएम हस्तान्तरण गर्नुभयो । पीसीआर परीक्षणमा प्रयोग हुन भिटिएम उहाँले हस्तान्तरण गर्नुभएको हो ।

कोरोना परीक्षणका लागि आवश्यक पर्ने थप आरडिटी किट र भिटिएम उपलब्ध गराउँदै जाने मन्त्री घिमिरेले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको आरडिटी कीट र भिटिएमले बिशेष गरेर भारतबाट फर्किएकाहरुको परीक्षणमा ठुलो टेवा पुगेको रतुवामाई नगरपालिका–८ का वडाअध्यक्ष गोपी चापागाइले बताउनुभयो ।

रतुवामाईमा अहिले सातवटा क्वारेनटाइन रहेका छन् । यी क्वारेन्टाइनहरुमा हाल ३ सय ४२ जना रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष शाहले जानकारी दिनुभयो ।

रतुवामाईमा २ जनाको कोरोना संक्रमण देखिएकोमा दुवैजना उपचारपछि डिस्चार्ज भएका छन् । मन्त्री घिमिरेसँगै संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, प्रदेशसभा सदस्य शिवनारायण गनगाई, रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले क्वारेन्टाईनको अनुगमन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button