Tune to BFM 91.2|Biratnagar

महँगो लागुऔषधसहित मोरङबाट एकजना पक्राउ

विराटनगर, १४ साउन । विश्वमा अत्याधिक माग रहेको र महँगो मध्येमा पर्ने मेथान्टामाइन आइस नामक लागुऔषध मोरङबाट प्रहरीले पहिलो पटक बरामद गरेको छ ।

दुव्र्यसनीले धेरै रुचाएको सूचीमा पर्ने यो लागुऔषध उच्च गुणस्तरको र नयाँ प्रकृतिको रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार यो एक प्रकारको केमिकल ड्रग्स हो । अत्याधिक महँगो लागुऔषधको कारोबारमा संलग्न उच्च घरनाका व्यवसायीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलले उच्च गुणस्तरको लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरिएको जानकारी दिनु भयो ।

प्रहरीले बिक्री गर्ने तयारीमा रहेको पाँच सय ३० ग्राम ९३ मिलिग्राम (आधा किलोग्राम भन्दा बढी) लागुऔषध पनि बरामद गरेको पोखरेलले बताउनु भयो । विशेष सूचनाका आधारमा मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन गर्नु भएको थियो ।

कोही व्यक्तिलाई लागुऔषध पुर्याउन आउँदै गर्दा उनलाई प्रहरीले विराटनगरको बरगाछीबाट पक्राउ गरेको हो । पक्राउ परेका बेला पोखरेलको साथबाट दुई सय ग्राम २२ मिलिग्राम लागुऔषध बरामद भएको थियो । प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा हानेर हिजो साँझ अरु लागुऔषध बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । नयाँ प्रकृतिको र उच्च गुणस्तरको लागुऔषधका कारोबारी पोखरेल उच्च घरनाका व्यवसायी रहेको प्रहरी स्रोतले बतायो ।

उद्योगमा लगानीसमेत रहेका उनी घरजग्गाको पनि कारोबार गर्ने गरेको बताइएको छ । एसपी पोखरेलले उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको जानकारी दिनु भयो ।

‘यही प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको यस अघि कुनै घटना प्रदेशमा छैन,’ उहाँले भन्नु भयो , ‘यस घटनाले दुव्र्यसनीले सबैभन्दा बढी रुचाएको र अत्याधिक महँगो लागुऔषधको कारोबार यहाँ पनि हुन थालेको पुुष्टि भएको छ ।

’ उच्च गुणस्तरको महँगो यो लागुऔषधको नेपालमा तस्करी एकदमनै कम मात्रामा र बेलाबेलामा हुने गरेको प्रहरी बताउँछन् । मेथान्टामाइन आइस नामक केमिकल ड्रग्स लागुऔषध हो भन्ने कुरा केही अघि जापानको एउटा प्रयोगशालाबाट पत्ता लागेको प्रहरी स्रोतको भनाइ छ ।

यसको अन्तर्राष्ट्रिय मूल्य प्रति ग्राम ८० डलरभन्दा बढी रहेको र तस्करी हुँदै नेपालसम्म आइपुग्दा प्रति किलो तीन करोड रुपैयाँसम्म पर्ने दाबी प्रहरीले गरेको छ ।

पक्राउ परेका पोखरेलले यही लागुऔषधको कारोबार गर्नका लागि अरु मुलुकामा पनि अन्तर्राष्ट्रिय हिसाबको सञ्जाल विस्तार गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ ।

नेपालमा पनि नेटवर्क बनाएर उनले कारोबार थालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button