महिलाको शरीरमा ‘फिटिङ’ गरेर सुपारी तस्करी

0
246

विराटनगर, २ फागुन । लगभग दुई वर्षदेखि निकासी ठप्प रहेको अवस्थामा सीमावर्ती नाकाबाट महिलाको प्रयोग गरेर दैनिक ठूलो परिणाममा भारततर्फ सुपारी तस्करी हुने गरेको पाइएको छ । प्रहरीले शरीरमा सुपारी ‘फिटिङ’ गरेर लैजाँदै गरेको अवस्थामा दुई जना महिलालाई नियन्त्रणमा लिएपछि सुपारी तस्करीमा महिलाको प्रयोग हुने क्रम बढेको पत्ता लागेको हो । ‘सीमावर्ती क्षेत्रमा महिला प्रहरीको उपस्थिती न्यून भएको र पुरुष प्रहरीले महिलाको शरीर खानतलासी गर्नै मिल्दैन,’ एक प्रहरीले भने, ‘त्यही भएर शरीरमा सुपारी ‘फिटिङ’ गरेर भारत कटाउन महिलाको प्रयोग हुने गरेको हो ।’ प्रक्रिया पूरा गरेर निकासी हुन नसकिरहेका बेला विभिन्न माध्यमको प्रयोग गरेर दैनिक रुपमा पाँच हजार किलोग्राम सम्म सुपारी अवैध रुपमा भारत कटाउने गरिएको जानकारी आएको विराटनगर भन्सार कार्यालयका एक अधिकारीले बताए । उनका अनुसार विराटनगर २२ को इश्लामपुर, मटेरुवा समेतका नाकाको प्रयोग गर्दै सुपारी तस्करी हुने क्रम बढे पनि नियन्त्रणका लागि प्रहरीले चासो दिएको छैन । तस्करीमा संलग्नले साईकल, ठेला, रिक्सा समेतको प्रयोग गरेर सुपारी भारत लगे पनि प्रहरी यस विषयमा मौन छ । विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले प्रक्रिया पूरा गरेर लैजाँदा भन्सार बुझाउनु पर्ने भएकाले तस्करीले प्राथमिकता पाएको हुन सक्ने बताउनु भयो । प्रहरीसंग ‘सेटिङ’ मिलाएर तस्करी हुन थालेसंगै सीमावर्ती क्षेत्रमा सुपारी तस्करहरुको चलखेल र उपस्थिती बढेको छ । भन्सारका एक अधिकारीका अनुसार सुपारी निकासी रोक्नका लागि पहल गरे जस्तो देखिए पनि ठूलो परिणाममा निकासी गर्न दिन प्रहरीले ‘सेटिङ’ मिलाएको छ । लामो समयदेखि सुपारी भारततर्फ लैजाने धन्दामा संलग्न रहेका एक जनाले इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक रामकुमार यादवसंग ‘सेटिङ’ मिलाएपछि सुपारी भारत कटाउन सजिलो भएको बताए । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले सीमावर्ती क्षेत्रबाट सुपारी तस्करी हुने गरेको जानकारी आएकाले कडाई थालिएको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here