मानव बेचबिखनका अभियुक्त कारागार चलान

विराटनगर, २३ फागुन । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक अभियुक्त जिल्ला अदालत मोरङले मागेको धरौटी वापतको रकम बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

नेपाली युवतीलाई प्रतिबन्धित मुलुक कुवेत पुर्याउने योजनाअनुसार मानव तस्करी गर्ने गिरोहलाई सहयोग पुर्याएका विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय दीपक कुर्मी कारागार चलान भएका हुन् ।

उनी विरुद्ध चलाइएको मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश किशोर घिमिरेको इजलासले चार लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटीमा छाड्न आदेश दिए पनि त्यो वापतको रकम बुझाउन नसकेका कारण कुर्मीलाई कारागार चलान गरिएको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले बताउनु भयो ।

भारतको नयाँ दिल्ली हुँदै अवैध बाटोबाट कुवेत पुर्याउन लागिएका दुई युवतीलाई जोगवनीतिर लिएर जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले माघ २२ गते दिउँसो विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट पक्राउ गरेको थियो । आफन्त नेपाल नामक संस्थासँग समन्वय गर्दै प्रहरीले सिन्धुपाल्चोक घर भएका २० र २२ वर्षीया युवतीको उद्धार पनि गरेको थियो ।

नेपाली महिलालाई श्रममा लगाउनका लागि कुवेत लैजान प्रतिबन्ध लगाइएको छ । दुवै युवतीलाई सिन्धुपाल्चोकका अर्जुन तामाङ र विराटनगर महानगरपालिका–५ का राजुप्रसाद रिजालबीचको योजना र ‘सेटिङ’मा जोगवनीबाट रेल चढाएर नयाँ दिल्ली हुँदै कुवेत पुर्याउने योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यही योजना अनुसार कुर्मीले दुवै युवतीलाई जोगवनीसम्म पुर्याउने जिम्मा लिएका थिए ।

उद्धार गरिएका युवतीहरुले वैदेशिक रोजगारीको बहानामा प्रलोभनमा पार्दै झुक्याएर प्रतिबन्धित मुलुक लैजान खोजेको भनेर तामाङ, रिजाल र कुर्मी विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । मुख्य अभियुक्त तामाङ र रिजाल भने फरार रहेको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button