माल्दिभ्समा १५ दिने आपत्कालीन अवस्था घोषणा,

0
110

काठमाडौं, २३ माघ । माल्दिभ्समा बढ्दो राजनीतिक र संवैधानिक गतिरोधका बीच राष्ट्रपति अब्दुल्ला यामीनले १५ दिनका लागि आपतकालीन अवस्थाको घोषणा गरेका छन् । आपतकाल घोषणापछि सरकारले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेको आरोप विपक्षी दलहरुले लगाएका छन् । तर सरकारी अधिकारीहरुले भने पूर्वराष्ट्रपतिलाई पक्राउ गरेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपतिका सहयोगी अजिमा शुकुरले सरकारी टेलिभिजनमार्फत आपतकालीन अवस्था घोषणा भएको जानकारी दिएका हुन् । राष्ट्रपति यामीनले पनि ट्वीटरमार्फत यसको जानकारी दिनुभएको छ । राष्ट्रपति यामिनले आपतकालीन अवस्थामा केही अधिकारको कटौती गरिए पनि सामान्य काम गर्न, व्यापार व्यवसाय गर्न भने कुनै असर नपर्ने स्पष्ट पारेका छन् । उनले देशका सबै नागरिक र माल्दिभ्सभित्र रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित हुनेसमेत बताएका छन् । राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरेलगत्तै सुरक्षाकर्मीहरु सर्वाेच्च अदालतभित्र प्रवेश गरेका थिए । गत शुक्रबार देशको सर्वाेच्च अदालतले केही राजबन्दीहरुलाई रिहा गर्न तथा १२ जना सांसदहरुलाई पुनर्बहाली गर्न आदेश दिएपछि सरकारले त्यसलाई असंवैधािनक भन्दै आपतकालीन अवस्थाको घोषणा गरेको हो । माल्दिभ्स सरकारले यसअघि संसदलाई निलम्बन गर्नुका साथै सर्वाेच्च अदालतले राष्ट्रपति अब्दुल्ला यामीनलाई महाभियोग लगाउने कुनै कदम उठाए त्यसको प्रतिरोध गर्न सेनालाई आदेश दिएको थियो । यसैबीच सरकारले अदालतको आदेश कार्यान्वयन गर्छु भन्ने प्रहरी प्रमुखलाई पनि राष्ट्रपतिले पदबाट बर्खास्त गरेका छन् ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here