मोरंगमा दुई सातामा ८ लाख विरुवा रोपियो

विराटनगर, १४ असार । मोरंगमा दुईसाताको अवधिमा ८ लाख विरुवा रोपिएको छ । असार १ गतेदेखि १४ गते सम्म ८ लाख विरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

‘बाँझो जग्गामा वृक्षारोपण र जहाँ वन त्यहाँ व्यवस्थापन’ नाराका साथ मोरङमा गत असार १ गते देखि अभियान शुरु गरिएको हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ लाई वृक्षारोपण वर्ष घोषणा गरे अनुरुप देशभरमा पाँच करोड विरुवा रोप्ने लक्ष्य लिएको थियो भने मोरङमा यस अवधिमा डिभिजन वन कार्यालय मोरङ सहित १६ वटा वन कार्यालयका नर्सरीबाट नौ लाख ३३ हजार विरुवा उत्पादन भई आठ लाख विरुवा निःशुल्क वितरण भएको डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं.१ का कर्मचारी अनिरुद्र साहले फलफूल तथा जडीबुटी बाहेक ४२ लाख बोटबिरुवा उत्पादन एवं वितरण भएको जानकारी दिनुभयो । आज सम्म १० हेक्टर जग्गामा वृक्षारोपणको काम सम्पन्न भएको छ ।

सव डिभिजन वन कार्यालय कानेपोखरीमा १५ लाखको लागतमा अत्यन्त व्यवस्थित र आधुनिक नर्सरी निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

स्थानीय जनतालाई लक्षित गरी तीन लाख बोटबिरुवा उमार्न बनाएको सो नर्सरीमा अहिले ५५ हजार बोटबिरुवा रहेको कार्यालय प्रमुख तुलसीप्रसाद यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button