Tune to BFM 91.2|Biratnagar

मोरंगमा एक बर्षको अवधिमा १ लाख ९१ हजारले गरे स्वास्थ्य बीमा

विराटनगर, २९ पुस । मोरंगमा करिव २ लाख व्यक्तिले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको एक बर्षको अवधिमा १ लाख ९१ हजार ४८९ जनाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड, मोरंगले जनाएको छ । स्वास्थ्य बीमा गर्नेमा ९१ हजार ९६६ पुरुष र ९९ हजार ४६५ महिला छन ।

बोर्डको तथ्याङ्क अनुसार ५८ जनाको लिङ्ग उल्लेख छैन । स्वास्थ्य बीमा बोर्ड, मोरंगका दर्ता अधिकारी दिलिप पोखरेलले अनलाईनमा तथ्याङ्क राख्ने क्रममा ५८ जनाको लिङ्ग छुटेको हुन सक्ने बताए । गत बर्षको मंसिरबाट मोरंगमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको पोखरेलले बताउनुभयो । १७ वटा स्थानीय तहको १५९ वटै वडामा दर्ता सहयोगी मार्फत स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो । चालु आर्थिक बर्षको असार मसान्तसम्म मोरङमा ४५ प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिसक्ने लक्ष्य राखिएको पोखरेलको भनाई छ ।

२०६८ को राष्ट्रिय जनगणना अनुसार मोरंगको जनसंख्या ९ लाख ६५ हजार छ । स्वास्थ्य बीमा बोर्डका अनुसार विराटनगरमा सवैभन्दा बढी ४५ हजार ८५७ जना स्वास्थ्य बीमा गरेका छन् । कार्यक्रमका बारेमा बुझेकाहरुले सहजै रुपमा बीमा गर्ने गरेको दर्ता अधिकारी पोखरेलले बताउनुभयो । गत बर्ष बीमा गरेका करिव ७० प्रतिशत हाराहारीले नविकरण गरेको उहाँले बताउनुभयो ।

५ जना सम्मको परिवारले बार्षिक प्रतिपरिवार ३ हजार ५ सय र ५ जना भन्दा बढी भए प्रति सदस्य ७ सय थप रकम लाग्ने पोखरेलले बताउनुभयो । ७० बर्ष माथिका जेष्ठ नागरिक, एचआईभी संक्रमित परिवार, एमडीआर क्षयरोगीका परिवार, कुष्ठरोग संक्रमितका परिवार र अति अशक्त अपाङ्गता भएकाको व्यक्तिको परिवारलाई पूर्ण सहुलियत दिने गरिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button