मोरङका जंगलमा सुरक्षाकर्मीको ‘स्वीप’ अप्रेशन

0
53

 

विराटनगर, १२ मंसिर । हातहतियार, बम एवं विष्फोटक पदार्थ लुकाएर राखेको आशंकामा मोरङका वन जंगलमा आजदेखि सुरक्षाकर्मीको संयुक्त टोलीले ‘स्वीप’ अप्रेशन संचालन गरेको छ । जसका लागि नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित छ । अप्रेशनमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरुको समेत प्रयोग गरिएको छ । उच्च सुरक्षा स्रोतका अनुसार मंसिर २१ गतेको निर्वाचनलाई लक्षित गरेर अप्रेशन संचालन गर्ने विषयमा सुरक्षा अधिकारीबीच हिजो विराटनगरमा छलफल समेत भएको थियो । जताततै बम फेला पर्न थालेका र विष्फोट हुन थालेका घटनाले उम्मेदवार, मतदाता एवं सर्वसाधारण जनताको सुरक्षामा चुनौती बढेको र निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि वन जंगल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा ‘स्वीप’ अप्रेशन संचालन गर्नु पर्ने निस्कर्ष छलफलबाट निकालिएको स्रोतले बतायो । निर्वाचन नजिकिंदै जाँदा चुनाव विरोधी गतिविधी गर्ने समूहको चलखेल बढेको निस्कर्ष निकालिएको र वन जंगलमा बम फेला पर्न थालेसंगै विशेष अप्रेशन संचालन गरिएको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पशुपति उपाध्यायले बताउनु भयो । आज मोरङको केरावारी गाउँपालिकाका विभिन्न जंगललाई सुरक्षा घेरा भित्र राखेर अप्रेशन संचालन गरिएको सुरक्षा स्रोतले बतायो । हिजो मात्रै केरावारी ९ देवीझोडा स्थित जंगलमा टिनको बाकसमा लुकाएर राखेको अवस्थामा सकेट बम र ग्रिनेट फेला पारिएपछि सुरक्षाकर्मीको ध्यान वन जंगलतर्फ केन्द्रीत भएको हो । उपाध्यायका अनुसार निर्वाचन विरोधी गतिविधी गर्ने समूहले जंगलमा हातहतियार र विष्फोटक पदार्थ लुकाएर राख्ने गरेको पुष्टि भएपछि त्यसबाट जनधनको क्षति नहोस भनेर तालिम प्राप्त कुकुर सहितको सुरक्षाकर्मीको संयुक्त टोली परिचालन गरेर अप्रेशन संचालन गरिएको हो । जंगलमा लुकाएर राखिएको पदार्थ विष्फोट भएर हुने जोखिम कम गर्नका लागि सतर्कता अपनाइएको सुरक्षा अधिकारीको भनाइ छ । अप्रेशनका क्रममा फेला परेका बम, विष्फोटक पदार्थ र हतियार समेतलाई नियन्त्रणमा लिएर डिस्पोज गर्ने र कोही शंस्कापद व्यक्ति भेटिएमा नियन्त्रणमा लिने सम्मको अधिकार सुरक्षाकर्मीको संयुक्त टोलीलाई दिइएको उपाध्यायले बताउनु भयो । उहाँले यो अप्रेशनलाई निर्वाचन सम्म निरन्तरता दिने र आवश्यक परे त्यसपछि पनि संचालन गरिने जानकारी दिनु भयो । उपाध्यायले नेपाल–भारत सीमावर्ती क्षेत्र र शंकास्पद स्थानलाई लक्षित गरेर अरु विशेष अप्रेशन संचालन गर्ने तयारी भइरहेको बताउनु भयो ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here