Tune to BFM 91.2|Biratnagar

मोरङमा दुई संक्रमितको मृत्यु

विराटनगर, ११ मंसिर । मोरङको लेटाङ र रतुवामाई घर भएका कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको मृत्यु भएको छ । लेटाङका पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि मंसिर ९ गते मंगलबार उपचारका लागि वृद्धलाई भर्ना गरिएको थियो ।

पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा रहेको जानकारी उहाँले दिनु भयो । गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि बचाउन नसकिएको दाहालको भनाइ छ ।

त्यस्तै रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको गएराति होम आइसोलेसनमै मृत्यु भएको छ । रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले कोरोना पुष्टि भए पनि आफ्नै घरमा बसिरहेका वृद्धको राति १० बजेतिर ज्यान गएको जानकारी दिनु भयो ।

उहाँका अनुसार सामान्य रुघा खोकी लागेपछि वृद्धको पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भए पनि सामान्य अवस्थाका कारण होम आइसोलेसनमै रहेका वृद्धको अचानक स्वास्थ्यमा समस्या देखिएको र उपचारका लागि लैजान नपाउँदै ज्यान गएको राईले बताउनु भयो ।

उहाँका अनुसार मृतकमा मृगौला सम्बन्धी पुरानै समस्या थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button